काठमाडौँ । बलिउडकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ ।
उनको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताएका थिए । त्यही कारण उनलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।
लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् । तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् ।
उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन् ।







