काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार नगद रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका-१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कालो रङ्गको झोलाभित्र नगद बोकेर हिँडिरहेको अवस्थामा ढुङ्गानालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका ढुङ्गानासँग प्रहरीले रु एक हजारका दरको पाँच हजार ७३४ थान, रु ५०० दरको दुई हजार ५३० थान, ल्यापटप ब्याग एक थान र साइड ब्याग एक थान बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता मैनालीले बताए ।







