काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी फागुनभित्रै अनुमोदन गराउनु पर्ने बताएका छन् ।
एमसीसी राष्ट्रको हितमा रहेको बताउँदै उनले अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुनेसमेत बताएका हुन् ।
उनले आज संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै भने, ‘अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन ।’
पूर्वअर्थमन्त्री महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने बताए । ‘दिएको सहयोग लिएन भनेर अमेरिकासँग सम्बन्ध बिग्रन सक्छ’ महतले भने, ‘साथसाथै नेपाललाई सबैभन्दा बढी विश्वास गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन ।’







