काठमाडौँ, वैशाख १० । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्स विजयी भएको छ । गुजरातले कोलकाता नाइट राइडर्सलाई आठ रनले पराजित गरेको हो । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
१५७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ४८ रनको योगदान दिए । २५ बलको सामना गरेका उनले ६ छक्का र एक चौका प्रहार गरे ।
रिन्कु सिंहले ३५, वेंकटेस अय्यरले १७ रन बनाउँदा उमेश यादव १५ रनमा अविजित रहे । गुजरातका लागि यश दयाल, मोहम्मद सामी र राशिद खानले दुईरदुई तथा अल्जारी जोसेफ र लोकी फर्गुसनले एकरएक विकेट लिए । यसअघि मुम्बईस्थित डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले । ६७ रन बनाएका उनले ४९ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।डेविड मिलरले २७, ऋद्विमान शाहले २५ र राहुल तेवाटियाले १७ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोलकाताका लागि आन्द्रे रसेलले चार, टिम साउदीले तीन तथा उमेश यादव र शिभम मावीले एकरएक विकेट हात पारे । जितसँगै शीर्ष स्थानमा उक्लिएको गुजरातले सात खेलमा १२ अंक जोड्दा पराजित कोलकाता आठ खेलबाट ६ अंकका साथ सातौं स्थानमा छ ।







