काठमाडौँ, जेठ २० । रिकार्डो होर्टाले देशका लागि पहिलो गोल गरेको दिन पोर्चुगलले बिहीबार राति यूईएफए नेसन्स लिगमा स्पेनसँग १–१ को बराबरी खेलेको छ ।
सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्पेनले २५औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो । गाभीको सहयोगमा पाब्लो सराबियाले दिएको पासलाई मोराटाले पोष्ट दिशा दिएका हुन् ।
क्लब ब्रागाका होर्टाले खेल सकिन आठ मिनेट बाँकी हुँदा बराबरी गोल फर्काएपछि पोर्चुगल एक अंक खोस्न सफल भएको थियो । होर्टाले २०१४ मा पहिलो पटक पोर्चुगलका लागि खेलेका थिए । उनी ७२औं मिनेटमा राफेल लियोको स्थानमा मैदान छिरेका थिए ।
पछिल्लो चार खेलमा स्पेन र पोर्चुगलले सबैमा बराबरी खेलेको छ । यस बराबरीसँगै लिग ‘ए’ समूह २ मा स्पेन र पोर्चुगलले समान एक अंक जोडेका छन् । तीन अंक जोडेको चेकगणतन्त्र शीर्ष स्थानमा छ ।







