काठमाडौँ, असार २ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।
बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए । आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए ।दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४,करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए । अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३र३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो ।
अमेरिकाका लागि अर्धशतकीय इनिङ खेलेका गजानन्द सिंहले ५८ रनको योगदान दिए । यस्तै सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय इनिङ खेले । आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए । निसर्ग पटेल १८ रन अविजित रहदा क्यामरुन स्टेभेनसन १६ रनमा अविजित रहे । नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले ११ विकेट लिए ।यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ । सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो ।







