काठमाडौँ, असार २ । कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागि भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ ।
चीनमा आयोजना हुने एसियनकपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन् । तीन महिनाको बिदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन् । तीन खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन ।
सन्तोषजनक प्रदर्शन गर्न नसकेको नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए । केही सिनियर खेलाडी विना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरुआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए ।







