काठमाडौँ, असार ५ । झाडापखाला लागेपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजाको जीवाणु पाइएको छ।
बागबजारमा बस्दै आएका १८ र २३ वर्षीय दिदिबहिनीमा हैजा लागेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार यही असार २ गते टेकु अस्पतालमा भर्ना भएका उनीहरुको उपचार भइरहेको छ। दुई जनामा हैजा पुष्टि भएपछि काठमाडौं उपत्यकावासीलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ। साथै हैजा सम्बन्धी कुनैपनि लक्षण देखिए तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ।







