प्यूठान, भाद्र २७ । प्यूठानमा स्वास्थ्य चौकीमा कार्यरत १ महिला स्वास्थ्यकर्मी सहित २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणका क्रममा प्यूठानका २ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमितहरु १ जना झिमरुक गाउँपालिकामा र १ जना सरुमारानी गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिए ।
सरुमारानीमा देखिएको संक्रमित ढुङ्गेगढि स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी रहेको गाउँपालिका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताए । स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको पहिलो चरणमा परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको र अहिले दोस्रो चरण एक महिला कर्मचारीको परिक्षण गर्दा पोजेभिट देखिएको उनको भनाई छ ।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्र्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी सञ्चालन गर्ने नगर्ने बारे अहिले छलफल भईरहेको गाउँपालिका स्वास्थ्य संयोजक रायमाझीले बताए। यस्तै झिमरुक गाउँपालिकामा देखिएको संक्रमित विदेशबाट आइ गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष तिलक जि.सीले जानकारी दिए ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४७५ पुगेका छन् जसमध्ये ४५२ जना निको भएर घर फर्किसकेका छन् भने २ जना कोरोना संक्रमितको मृत्यु भईसकको छ ।







