काठमाडौं,असोज १४ । रौतहटको चन्द्रपुर नगरपालिका–६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । चिम्नीटोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापालाई मंगलबार साँझ सत्तेरी जंगलभित्र बाघले आक्रमण गरेको हो ।
बाघको पन्जाले चिथोरेर दुवै कान, छाती, गालामा चोट लागेको छ ।आक्रमणमा परी घाइते दुवैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार साँझ घास काट्न जंगल गएका स्थानीय ३० वर्षीय संगम भण्डारी जंगलमा बेपत्ता भएपछि खोजी गर्न गएका उनीलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।
हराइरहेका भण्डारीलाई खोज्न राति अबेरसम्म गाउलेहरु जंगलमै थिए । तर थापा र श्रेष्ठलाई आक्रमण गरेको थाहा पाएर सबै जंगलबाट बाहिरिएका थिए ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र र गाउलको टोली हराइरहेका भण्डारीको खोजी गर्न गएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।







