काठमाडौं ,पौष १४ । साउदी अरबको एक अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार ५ वर्ष ८ महिनाको जेल सजाय तोकेको हो ।
अधिकारवादी महिला लुजाइनलाई रिहा गर्न निरन्तर परिरहेको अन्तर्राष्ट्रिय दबाबका बाबजुद यस्तो फैसला आएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। ती महिला अधिकारकर्मीले आतंकवादविरुद्धको कानुन उल्लंघन हुने गरी विभिन्न गतिविधिहरु गरेकी अधिकारीहरुको दाबी छ ।
अदालतले लुजाइनलाई परिवर्तनका लागि आन्दोलन गरेको, विदेशी एजेण्डा बोकेको तथा इन्टरनेटको गलत प्रयोग गरेको जस्ता विषयमा दोषी ठहर गरेको छ । अदालतको फैसलापछि संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले गहिरो चिन्ता प्रकट गरेको छ।
विदेशी नागरिकहरुसँग मिलेर साउदी अरबविरुद्ध षड्यन्त्र रचेको आरोपमा उनलाई सन् २०१८ को मे महिनामा पक्राउ गरिएको थियो । सोमबार उनलाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइए पनि उनले ३ वर्ष मात्रै जेलमा बस्नुपर्नेछ । अदालतले हथलौलले २ वर्ष १० महिना यसअघि नै जेलमा बसेकाले उक्त अवधि घटाएको छ ।







