काठमाडौं ,पुस २३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् ।
अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने विषय सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि ट्रम्पको फेसबुर र ट्वीटर एकाउन्ट बन्द गरिएको छ।
ट्वीटरले आफ्नो नियमको पालना नगरेको कारण ट्रम्पमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ । कम्पनीले ट्रम्पले गलत दाबी गरेका पोस्टहरु नहटाएसम्म उनको अकाउन्ट लक रहने बताएको छ ।
उनले अझै पनि आफ्नो नियमको बेवास्ता गरे उनको अकाउन्ट स्थायीरुपमा नै हटाइने चेतावनी ट्वीटरले दिएको छ ।
राष्ट्रपति ट्रम्पले धोखाधडीका कारण चुनाव हारेको आधारहीन टिप्पणीसहितको भिडियो ट्वीटर, फेसबुक र युट्युबमा लगातार पोष्ट गरिरहेका थिए।
यसैबीच अर्को सामाजिक सञ्जाल फेसबुकले पनि ट्रम्पको अकाउन्टमाथि २४ घण्टाको प्रतिबन्ध लगाएको छ । फेसबुकले अहिले हिंसा भड्काउने किसिमका पोस्टहरु खोज्ने र हटाउने काम भइरहेको बताएको छ ।







