काठमाडौं, वैशाख ११ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्डसलाई १४२ रनले हराउँदै नेपालले उपाधि जितेको हो।
२३९ रनको लक्ष्यसहित व्याटिङमा उत्रेको नेदरल्याण्डसले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो। नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाए। यस्तै कप्तान पिटस शेलारले १३ रन बनाए। सेवास्टियन ब्राटले अविजित २६ रनको योगदान दिए।
बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई/दुई तथा अविनाश बोहराले एक विकेट लिए। लामिछानेले आज पनि उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिए। लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। उनले पाँच खेलमा १३ विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो।
नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए। उनले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हाने। यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए।
कुशल मल्लले अर्द्धशतक प्रहार गरे। उनले २४ बलमा अविजित ५० रन बनाए। सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हाने। यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए। बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिए।







