काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टी नेता प्रधान नभई नीति र विचार प्रधान भएको जनाएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उनले उल्लेख गरे । “कम्युनिष्ट पार्टी नेता प्रधान नभई नीति र विचार प्रधान हो”, उनले भने ।
यसका साथै उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारे ।
उनले भने, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।” देशको स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो । “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भने ।







