काठमाडौँ । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गते निर्वाचनको मिति तोकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ । जसमा १९ जना निर्वाचित र एक जना सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका सांसद छन्।
कार्यकाल सकिनुभन्दा ३५ दिन अगाडि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।







