काठमाडौँ । एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहँदा अध्यक्षका उम्मेदवार भीम रावललगायत उनीपक्षीय नेतालाई भोट नहाल्न भन्दै केपी ओली समूहले पर्चा बाँडेको छ ।
रावलसहित ओलीले नयाँ नेतृत्वका लागि नाम घोषणा गरेकाबाहेक उम्मेदवारलाई भोट नहाल्न भन्दै उनका कार्यकर्ताले पर्चा बाँडेका हुन् ।
भोट हाल्नका लागि लाइनमा बसेका एमाले प्रतिनिधिहरुलाई ओलीका कार्यकर्ताले अध्यक्षका उम्मेदवार रावलसहित उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीम आचार्यलगायतलाई भाेट नहाल्न भन्दै पर्चा बाँडिरहेका हुन् ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । बिहान ४ बजेदेखि मतदान सुरु भएको हो । राति ९ बजेदेखि नै समय तय गरिएको भए पनि निर्धारित समयभन्दा सात घण्टापछि मात्रै मतदान सुरु भएको हो ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।
सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यता अध्यक्षका प्रत्यासी भीम रावलले भने निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भएको भन्दै निन्दा गरेका छन् ।
यसप्रति आपत्ति जनाउँदै रावलले यस्तो कार्य रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । यस्तो कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर पार्ने रावलको भनाइ छ ।







