काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् ।
यसअघि १३ औं महाधिवेशनमा पहिलो पटक कांग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए ।
मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४५७४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।
कांग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३५ मत बदर भयो । 







