काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अहिले कै अवस्थामा आँखा चिम्लेर समर्थन नगर्ने बताएका छन् ।
उनले शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने आफ्नो प्रष्ट धारणा रहेको बताएका हुन् ।
‘एमसीसी बारेमा कुरा मिलेन भने गठबन्धन टुट्छ भन्ने आशंका पनि गरिएको छ, गठबन्धन टुटीसकेपछि चुनावमासँगै नजाने पो हो कि? भन्ने प्रश्न पनि उठेको छ, तर यी सबै चुनौतीको सामना गर्न हामी तयार छौँ ।’ नेपालले भने, ‘हेरौँ अब के हुन्छ?’ तर संशोधन बिना आफूहरुले एमसीसीलाई समर्थन नगरिने उनले प्रष्ट पारे ।
नेता नेपालले भने, ‘कुन–कुन बुँदामा करेक्सन गर्नुपर्छ भनेर हामी छलफलमा छौँ, तर अमेरिका करेक्सन गर्न तयार छैन भन्ने चर्चा पनि छ, यहिँ बारेमा अमेरिकासँग पनि छलफल चलिरहेको छ ।’ एमसीसीबारे दलहरु विभाजित रहेको र जनमत पनि विरोधमा रहेकाले यसबारे जनतालाई प्रष्ट पार्नु आवश्यकता रहेको नेता नेपालले बताए ।







