काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रिन’ भेटिएसँगै ह्वात्तै बढेको संक्रमित दर यतिबेला क्रमिक रुपमा सुधार हुँदै आएको पाइन्छ ।
संक्रमितको संख्या वृद्धि दरमा कमि आउनुका साथै कोरोना संक्रमणमुक्त हुनेको संख्यामा समेत उल्लेख्य रुपमा वृद्धि भएको पाइन्छ । यसको कारण कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।
यतिबेला विश्वभर कोरोनाका थप २६ लाख बिरामी निको भएका छन् । हामीले यो समाचार तयार पार्दा सम्ममा पछिल्लो २४ घण्टामा २६ लाख ३३ हजार संक्रमित निको भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ । यो सँगै विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा धेरै भएको छ ।
यस्तै, थप १ लाख ६० हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४१ करोड ५७ लाख ३३ हजार पुगेको छ ।
२४ घण्टामा ९ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ५५ हजार पुगेको वल्डोमिटरले उल्लेख गरेको छ ।
अहिले विश्वभर ७ करोड १४ लाख १ हजार सक्रिय संक्रमित रहेकामा ८५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा मात्रै ७ करोड ९६ लाखमा कोरोना पुष्टि हुँदा ५ करोड ३ लाख निको भएका छन्। ९ लाख ४ हजारको भने मृत्यु भएको छ। त्यहाँ गत २४ घण्टामा मात्रै २ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।