काठमाडौँ, वैशाख १५ । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन ।
त्रिविले समयमा नै परीक्षाफल प्रकाशन नगर्दा विद्यार्थीको ‘करिअर’मा नै असर पर्ने गरेको समेत पाइएको छ । शैक्षिक प्रमाणपत्र लिएर करिअरको बाटो तय गर्ने सपना बोकेका युवा विद्यार्थीमाथि त्रिविको ढिलासुस्तीले तनाव दिने गरेको विद्यार्थीहरूको गुनासो रहेको पाइन्छ ।स्नातक तह दोस्रो वर्षको परीक्षा गत वैशाख २०७८ मा भएको थियो । हालसम्म पनि त्रिविले सो परीक्षाको परीक्षाफल प्रकाशित गरेको छैन । एक विद्यार्थी परीक्षा दिएर विवाह गरेपछि बच्चा जन्मिएको र विवाहको वार्षिकोत्सवसमेत मनाउँदा पनि परीक्षाफल प्रकाशित नभएको बताउँछिन् ।
स्नातक तहतर्फको प्रायः सबै संकायको परीक्षाफल लामो समयदेखि प्रकाशन नभएको पाइएको छ । भदौमा सम्पन्न एलएलबी प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित नभएको पाइएको छ । कानुन संकायतर्फ भने दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएर पनि ब्याक पेपरको समेत परीक्षा सम्पन्न भइसकेको छ । त्रिविका स्नातक तह, स्नातकोत्तर तहका विभिन्न संकायको नतिजा प्रकाशनमा ढिला हुने गरेको छ । वार्षिक प्रणालीमा मात्र नभएर सेमेस्टार प्रणालीमा समेत परीक्षाफल ढिला हुने गरेको विद्यार्थीको गुनासो छ ।
गत साउनरभदौमा डिन कार्यालयले लिएको सामाजिक शास्त्र, अर्थशास्त्रलगायत विषयको नतिजा हालसम्म पनि प्रकाशन हुन सकेको छैन । अन्य संकाय र तहको परीक्षाफल प्रकाशनमा समेत ढिलाइ हुने गरेको पाइएको छ । त्रिविले जनशक्तिको अभावका कारण समयमा नै नतिजा प्रकाशन गर्न नसकेको जवाफ दिएको छ । त्रिविले लामो समयदेखि जनशक्तिको अभावमा देखाएर परीक्षाफल प्रकाशनमा ढिलासुस्ती गर्ने गरेको पाइएको छ । यो समाचारराजधानी दैनिकमा छ ।







