काठमाडौँ, वैशाख २३ । नेपाल जिम्बाब्वे ‘ए’विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा तीन विकेटले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेका कप्तान टोनी मुनियोन्गाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गर्न सकेन । नेपालले ३१।३ ओभरमा १३६ रन बनाउँदा सबै विकेट गुमायो । १३७ रनको लक्ष्य जिम्बाब्वे ‘ए’ले २६ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो ।
यससँगै जिम्बाब्वे ‘ए’ले तीन खेलको एकदिवसीय शृंखला १–० को अग्रता लिएको छ । यसअघि सम्पन्न तीन खेलको ट्वान्टी–२० शृंखला १–१ के बराबरीमा टुंगिएको थियो । ट्वान्टी–२० शृंखलाको दोस्रो खेल वर्षाले प्रभावित भएको थियो ।
१३७ रनको लक्ष्य पूरा गर्ने क्रममा जिम्बाब्वे ‘ए’का इनोसेन्ट काइयाले ४८, सेफस हुवाओले ३२, रोए काइयाले १४ रन बनाए । ब्राड इभान्स १७ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालले एक एक विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले १० ओभर सकिँदा नेपालले ५६ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेल १९, आसिफ शेखले ५, आरिफ शेखले ५, दीपेन्द्रसिंह ऐरीले १८, रोहितकुमार पौडेलले तीन रन बनाएर पवेलियन फर्किएका थिए । आदील आलम दुई रन बनाएर आउट हुँदा सुशन भारी शून्यमा आउट भए ।
सोमपाल कामी र करण केसीले आठौं विकेटका लागि ३७ रनको साझेदारी गरे । सोपपालले ३० रन बनाउँदा करणले २५ रन जोडे । कप्तान सन्दीप लामिछानेले चार रन बनाए । सागर ढकाल एक रनमा अविजित रहे ।
जिम्बाब्वेका ब्राड इभान्सले चार विकेट लिए । उनले ८।३ ओभरमा २७ रन दिएर चार विकेट लिएका हुन् । भिक्टोर न्याउची, सेफस हुवाओ र ब्रान्डन मभुताले समान दुई विकेट लिए ।







