काठमाडौँ, वैशाख २५ । बुटवलमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्न लागेको हो ।
चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल आउने भएका छन् । बुटवलको देवीनगर स्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आयोजना हुने सभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए ।
सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाता जुलुससहित सहभागी हुने केसीले बताए । दिउँसो १२ बजे सुरु हुने चुवानी सभालाई पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्ष बिष्णु पौडेल, सचिव छविलाल बिश्वकर्मालगायत नेताले सम्बोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।







