काठमाडौँ, जेठ ७ । भरतपुर महानगरपालिकामा शनिबार अपराह्न साढे २ बजेसम्म ७६ हजार ९५ मत गणना भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले पाँच हजार ७३३ मतको अग्रता कायम गरेकी छन्। अग्रता बढाउँदै लगेकी दाहालले २९ हजार ४७८ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २३ हजार ७४५ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४२३ मतको अन्तर बनाएका छन्। उनले ३१ हजार ८२४ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १८ हजार ४०१ मत पाएकी छन्।
भरतपुरका १ देखि १४ वडाको मतगणना सकिएको छ। अहिले वडा नंं १५ र १६ को मत गणना भइरहेको छ। दुवै वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।







