
काठमाडौँ, असार २० । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले गएराति सम्पन्न खेलमा स्थानीय क्लब ओन्टारियो एकेडेमीविरुद्ध ५५ रनको जित हात पारेको हो ।
अघिल्लो एकदिवसीय अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । टी–२० मा २१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९।३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो ।
उसका लागि वरुण सहदेवले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । नरेश बुढाऐरले ४१ र जेड पदमोरले ३७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले दुई, करण केसी, किशोर महतो र मोहम्मद आदिल अन्सारीले एकरएक विकेट लिए । त्यसअघि किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।
नेपालका लागि रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ७१ रनमा अविजित रहेका रोहितले ३१ बलमा समान पाँच चौका र छक्का प्रहार गरे । २७ बलको सामना गरेका दीपेन्द्रले ६ चौका र दुई छक्कासहित ५४ रन जोडे ।
पवन सर्राफले ३७, देव खनालले २० रन जोड्दा आदिल अन्सारीले अविजित १० रनको योगदान दिए । ओन्टारियोका लागि रेमण्ड बाइनो, वरूण सहदेव, किनान टिन्टो र हसन मिर्जाले एकरएक विकेट हात पारे ।
नेपालले अब भोलि र पर्सि क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । क्यानडापछि नेपाली टिम आइसिसी विश्वकप लिग९२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । जहाँ नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।
नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ ।