प्युठान, मंसिर २४ । प्युठानको नौबहिनी गाउँपालिका निवासी सीमा बुढाले त्रिभुवन विश्वविद्यालयको बी.एड. चौथो वर्षमा उत्कृष्ट नतिजा ल्याउँदै लुम्बिनी प्रदेश प्रथम हुन सफल भएकी छिन् ।
बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत सीमाले ७५.६० प्रतिशत अंक ल्याई लुम्बिनी प्रदेश प्रथम हुने गौरवमय उपलब्धि हासिल गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयले २०८१ मंसिर १६ गते सार्वजनिक गरेको नतिजामा सीमाको उत्कृष्ट प्रदर्शनले न केवल नौबहिनी गाउँपालिका, तर समग्र प्युठान जिल्लाको शैक्षिक स्तरलाई पनि उजागर गरेको छ।
क्याम्पसका विभागीय प्रमुख रिता ढकालका अनुसार सीमाको मेहनत, लगनशीलता र समर्पण यस सफलताको मूलमन्त्र हुन्।
सीमाको यो उपलब्धिले गाउँकै युवा पुस्तालाई प्रेरणा दिनेछ। सीमाले आफ्नो सफलता श्रम, समर्पण र आत्मविश्वासको नतिजा भएको बताएकी छिन्। यो उपलब्धिका लागि परिवार, शिक्षक र क्याम्पसको योगदान उल्लेखनीय रहेको सिमा बताउछिन् ।