प्यूठान, वैशाख ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ आगामी वैशाख ६ गते प्यूठानको जुम्रीमा आयोजित नगर अधिवेशनको उद्घाटनका लागि प्यूठान आउने भएका छन्।
माओवादी केन्द्र प्यूठान नगर कमिटीको आयोजनामा हुन लागेको नगर अधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुने निश्चित भएसँगै यहाँको राजनीतिक वातावरण थप तातिएको छ। पार्टीका अनुसार अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको यो अधिवेशनमा केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ।
नगर समितिका एक नेताले भने, “पूर्व उपराष्ट्रपतिजस्तो राष्ट्रिय व्यक्तित्वको आगमनले प्यूठानमा नयाँ ऊर्जा र राजनीतिक गतिशीलता थप्नेछ।”
उक्त अधिवेशनले माओवादी केन्द्रको संगठनात्मक एकता, नीतिगत स्पष्टता र जनसम्पर्कलाई सुदृढ गर्ने विश्वास लिइएको छ।
