नवलपरासी। चार लेनमा विस्तार भइरहेकाे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको पूर्वी भागमा निर्माण हुने सबै साना पुलहरू निर्माण सम्पन्न भएका छन्।
गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा निर्माण गरिएका २२ वटै साना पुलहरू निर्माण पूरा भएको नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार २५ मिटरभन्दा छोटा पुलहरूलाई ‘साना’ र २५ मिटरभन्दा लामालाई ‘ठूला’ पुलको रूपमा वर्गीकरण गरिएको हो।
हाल यी साना पुलहरू तयार भए पनि राजमार्गबाट पुलतर्फ जाने पहुँच मार्ग निर्माण गर्न बाँकी रहेकाले गाडी सञ्चालन अझै सुरु गरिएको छैन। खनालका अनुसार आउँदो असारसम्म तीनवटा ठूला पुलहरू समेत निर्माण सम्पन्न हुने लक्ष्य छ।
केही हप्ताअघि अत्यधिक भारवहन गरेका गाडीका कारण विनयी खोलाको पुरानो पुल भाँचिएपछि उक्त क्षेत्रमा नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रीत गरिएको छ।
चैत मसान्तसम्ममा यस सडक खण्डको समग्र निर्माण प्रगति ६३ प्रतिशत पुगेको छ। यो सडक विस्तारका लागि ग्लोबल टेन्डरमार्फत ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले २०७५ माघमा सरकारसँग सम्झौता गरेर चैत ८ गतेदेखि काम थालेको हो।
प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र (२०७९ साउनसम्म) निर्माण सक्ने लक्ष्य राखिएको थियो। तर निर्माण अवधि तेस्रो पटक बढाइएको म्यादअनुसार अब आउँदो असारमा सकिँदैछ।
