प्यूठान, वैशाख ३१ । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ।
बुधबार नगर सभाहलमा आयोजित एक विशेष समारोहमा औपचारिक रूपमा नगरपालिका ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ भएको घोषणा गरिएको हो।
कार्यक्रम नगर उप–प्रमुख श्री मिनराज रानामगरको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति प्रमुख श्री धरम बहादुर जि.सी. प्रमुख अतिथिका रूपमा रहेका थिए । त्यस्तै समन्वय समिति उप–प्रमुख श्री दुर्गा रेग्मी विशेष आतिथ्यता रहेको थियो।
स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री केशवराज भट्टराई, नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा खोपको पूर्ण पहुँच र यसको दिगोपनालाई स्थानीय तहबाट सुनिश्चित गरिएको जनाइएको छ।
यस घोषणाले स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण तथा जनस्वास्थ्य सुरक्षामा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।







