गुल्मी । कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन् । वडा नम्बर १ सिरकोटको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा लागेको हो । मकैलगायत बाली लगाउँदा लागत बढी, उत्पादन र आम्दानी कम भएकाले किसान किबीखेतीमा लागेका हुन् ।
अहिले किबीको बजार राम्रो भएकाले किसानलाई व्यावसायिक खेतीमा लाग्न प्रेरित गरेको स्थानीय बताउँछन् । सिरकोटका १८ परिवारका नागरिकले अहिले दुई सय ५० रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेका छन् । त्यसमा छ हजार चार सय बिरुवा लगाइएको छ ।
स्थानीय लक्ष्मीपति न्यौपानेले आफ्नो बारीमा २०७७ सालमा एक हजार चार सय बिरुवा लगाए । पहिलो उत्पादनका रुपमा गत वर्ष उनले दुई लाख ५० हजार रुपैयाँको किबी बिक्री गरे । यस वर्ष सात लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए । रोजगारीको सिलसिलामा २०६१ सालमा भारत गएका उनी दुई वर्ष बसेर स्वदेश फर्किए । अहिले स्थानीय देउराली माध्यमिक विद्यालयमा अध्यापनसमेत गराउने उनले किबीका साथै एक हजार चार सय सुन्तलाका बिरुवा लगाएका छन् ।
गाउँमा गगन तरामुका नौ सय तथा चन्द्रकला पाण्डेका आठ सय किबीका बिरुवा छन् । गत वर्ष सिरकोटबाट मात्रै १० लाख रुपैयाँको किबी निर्यात भएको छ । स्थानीय बजारमा फुटकर प्रतिकिलो तीन सय र थोकमा प्रतिकिलो दुई सयमा बिक्री हुन्छ ।
औसत प्रतिकिलो दुई सय ५० मा स्थानीय बजारका साथसाथै बुटबल, भैरहवासम्म पनि किबी बिक्री हुने गरेको उन्नतशील कृषि तथा फलफूल कृषक समूहका अध्यक्षसमेत रहेका पदमपाणि पाण्डेले जानकारी दिए । किबीका बिरुवा २०७७ सालमा दोलखाबाट प्रतिबिरुवा तीन सय रुपैयाँमा खरिद गरिएको थियो । पछि कालीगण्डकी गाउँपालिकाले पनि बिरुवामा अनुदान दिएको थियो ।
सिरकोटमा यस वर्ष सबै किसानको गरी २० लाख रुपैयाँको किबी बिक्री हुने अपेक्षा गरिएको छ । किबीले सामान्यतया लगाएको कम्तीमा चार वर्षदेखि अधिकतम ३५ वर्षसम्म फल दिने गर्दछ । त्यसले गर्दा किसानलाई बिरुवा लगाइरहने झन्झट हुँदैन । उनले सिरकोटलाई किबीको नमुना गाउँको विकास गर्ने लक्ष्य पालिकाले लिएकाले किसानको समस्यामा पालिकासँगै रहने बताए ।
किबीखेतीमा आकर्षित भएका किसानलाई राज्यकातर्फबाट राम्रो सहयोग मिलेको छ । सिँचाइका लागि जिल्लामा रहेकाे जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुई वटा पोखरी निर्माण गरेको छ । सिरकोट किबीखेती पोखरी जल पुर्नभरव योजनाबाट चालू आर्थिक वर्षमा सिँचाइ विकास डिभिजन कार्यालयले ७५ घनमिटरका ६५ हजार लिटर पानी अट्ने पोखरी निर्माण गरेको हो । आकाशे पानी र खेर गएको पानी पोखरीमा जम्मा हुनेछ भने खडेरीका बेला पोखरीबाट सिँचाइ हुनेछ ।
१० लाख रुपैयाँमा निर्माण भएका पोखरीबाट किसानलाई धेरै राहत मिलेको छ । कृषिजन्य सामग्रीको उत्पादन बढाउने लक्ष्य रहेको कार्यालय प्रमुख भरत सापकोटा बताउछन् । कार्यालयका तर्फबाट जिल्लाभर कुलो, पोखरी लगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए । प्रमुख सापकोटाले सिरकोटका किसानको लोभलाग्दो मेहनत भएको पनि बताए ।
त्यसैगरी कृषि ज्ञान केन्द्रले पनि दुई वटा पोखरी बनाएको छ भने किबीका लागि आवश्यक पिल्लरमा अनुदान दिएको छ । त्यसैगरी गाउँपालिकाले पनि अहिलेसम्म दुई हजार पाँच सय बिरुवा अनुदानमा उपलब्ध गराएको छ ।







