रुपन्देही। अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीले नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको ध्यानाकर्षण गराउँदै विद्युत् आपूर्ति समस्याको तत्काल समाधानको माग गरेको छ।
हालैका दिनमा सूचना विना पटक–पटक विद्युत् काटिने समस्या बढेपछि संगठनले कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
संगठनका जिल्ला अध्यक्ष टिकाराम आचार्यको हस्ताक्षर रहेको पत्रमा करिब एक महिनादेखि अघोषित रूपमा ‘लोडसेडिङ’ शैलीमा झ्यापझ्याप लाइन काटिने गरेको जनाइएको छ।
यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तथा परिक्षा दिइरहेका परीक्षार्थीहरूमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा विद्युत् कटौतीका कारण उद्योग, व्यापार तथा स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रहरूमा पनि प्रतिकूल असर परिरहेको जनाइएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यालय प्रमुखले आफू हिजोमात्र सरुवा भई आएको जानकारी दिँदै समस्यालाई सूक्ष्मरूपमा अध्ययन गरी समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।







