प्युठान। गएराति मध्य र पश्चिमी भेगका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ।
पछिल्लो तीन घण्टाको तथ्याङ्कअनुसार डडेलधुरामा सबैभन्दा बढी ३०.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। डोटी, अछाम, जाजरकोटलगायत जिल्लाहरूमा पनि मध्यम खालको वर्षा मापन गरिएको छ।
अछामको बेनिघाट जलमापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगिसकेको र निरन्तर बढ्दो क्रममा रहेकोले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
