फागुन १३, २०७६- किमाथाङ्का गाउँमा फेरि हिमपात भएको छ । साेमबार रातिदेखि फेरि हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएकाे छ ।सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किलाेमिटर टाढा रहेको किमाथाङ्का गाउँमा गएको मङ्सिर अन्तिम हप्तादेखि हिमपात सुरु भएको थियो । बर्सेनि किमाथाङ्का गाउँ र गाउँमाथिको छेसुम्बा गुम्बालगायतका डाँडामा झण्डै ६ महिनासम्म हिउँ पर्ने गर्छ ।
सङ्खुवासभाकाे धेरै ठाउँमा चिसो कम हुँदै गए पनि किमाथाङ्का नाका र तल गाउँसम्म अझै हिमापात भइरहेकाे सीमा सुरक्षा पोस्ट (बीओपी) काे सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराम राईले बताउनुभयो ।उहाँको अनुसार यस क्षेत्रमा पटक–पटक हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ । घरबाट बाहिर निस्कन पनि मुश्किल रहेकाे उहाँले जानकारी दिनुभयाे ।केही समयअघि मात्रै सङ्खुवासभाको किमाथाङ्का नाकामा सीमा सुरक्षा पोस्ट स्थापना गरिएको हो ।