फागुन १५, अधिकांश व्यक्ति धेरैजसो समय घरमा बिताउँछन् । दिनभरको थकान घरमा गएर मेटिन्छ । सुख–दुःखको साक्षी हुने भएकाले घरसँग प्रत्येक व्यक्तिको सम्बन्ध हुन्छ । तर, सधैँ एउटै ठाउँ र परिवेशमा बस्दा मानिस मोनोटोनस पनि भइरहेको हुन्छ । त्यसैले घरको वातावरण शान्त र फ्रेस बनाइराख्न समयसमयमा रिनोभेसन जरुरी छ ।
हावा स्वच्छ बनाउँछ – घरभित्र निस्किने फोहोरबाट तीन सयभन्दा बढी किसिमका रोगका कीटाणु उत्पन्न हुन्छन् । जसले गर्दा टाउको दुख्ने, घाँटी दुख्ने, रिंगटा लाग्ने र एकाग्रतामा कमी आउनेजस्ता स्वास्थ्य समस्या निम्तिन्छन् । बोटबिरुवाले हावामा भएको प्रदूषणलाई सोस्ने र बाहिर पठाउने हुँदा घरभित्रको वातावरण सफा बनाउन मद्दत गर्दछ ।
व्यायाम – व्यस्त जीवनशैली र बढ्दो प्रविधिका कारण शरीरका लागि अत्यावश्यक एक्सरसाइजको अभाव हुने गर्दछ, जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको हुन्छ । घरमा बोटबिरुवा रोप्दा प्रत्येक दिनजसो स्याहार गर्नुपर्ने हुन्छ, जसले शारीरिक कसरत गराउँछ । माटो, पानी र बिरुवासँग खेल्दा बालबालिकाको वृद्धि विकासमा अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ ।
संक्रमणको जोखिम घटाउँछ – बोटबिरुवाले कोठामा भएको प्रदूषणको करिब २० प्रतिशत स्वतः सोस्ने गर्दछन् । त्यस्तै, हावामा मिसिएका जीवाणु र रासायनिक तत्वलाई बाहिर पठाउन मद्दत गरिरहेका हुन्छन् । जसले गर्दा कोठा सुक्खा र फोहोर हुन पाउँदैन । फलस्वरूप रुघाखोकीजस्ता संक्रमणबाट बच्न सहयोग मिल्छ ।
मुड फ्रेस बनाउँछ – बोटबिरुवा र प्राकृतिक सुन्दरतायुक्त स्थानले सकारात्मक, आनन्द र आशावादी सोचको विकास गर्छ । जस्तै, अस्पतालमा बोटबिरुवा रोप्दा बिरामीको रक्तचाप, दुखाइ, धड्कन सन्तुलित हुन्छ । प्राकृतिक वातावरणले सेरोटोनिन र डोपामाइन नामक रसायनको उत्पादन गर्ने हुँदा व्यक्तिले शान्त महसुस गर्ने गर्दछ ।
तनाव घटाउँछ – घरभित्र होस् या घरबाहिर, सुन्दरताले इन्द्रीयलाई आकर्षित गर्ने हुँदा व्यक्तिलाई वर्तमानमा रमाउन प्रोत्साहन गर्दछ । जनरल अफ साइकोलोजिकल एन्थ्रोपोलोजी र जनरल अफ हेल्थ साइकोलोजीमा प्रकाशित अध्ययनअनुसार सामान्यतया बगैँचा र फूलवरपर बस्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा ७० प्रतिशतभन्दा कम तनाव हुने गर्दछ ।