फागुन १६, २०७६ काठमाडौं । ६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ । गत वर्ष १० चैतबाट सुरु एसइईमा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिकतर्फ २४ हजार आठ सय १४ विद्यार्थी सहभागी थिए ।
सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने भएपछि गत वर्षभन्दा यसपालि आंशिकतर्फ विद्यार्थी कम भएको हो । एसइईका लागि हाल सुरक्षा घेराभित्र जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइ भइरहेको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो । -नयाँ पत्रिका दैनिक