फागुन २२,२०७६ प्युठानमा दुई दिनको अवधिमा चार बालबालिका हराएको अवस्थामा फेला परेका छन् । विभिन्न कारणले बालबालिका घरबाट बाहिर आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार दिउँसो २ बजे प्युठान नगरपालिका–४ बिजुवार बजारमा अन्दाजी १३ वर्षीय बोल्न नसक्ने बालक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो । बालकको पहिचान हुन नसकेका कारण उनलाई इलाका प्रहरी कार्यालय बिजुवारमा राखिएको उहाँको भनाइ छ ।
यसैगरी मङ्गलबार राति करिब ९ बजेतिर प्युठान–४ जुम्रीमा तीन बालबालिका हराएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । नौबहिनी गाउँपालिका–२ लिघा निवासी सुके सुनारकी सातवर्षीया छोरी माया र सोह ठाउँ निवासी सौर्य विकका नौ वर्षीय छोरा सागर र सात वर्षीया छोरी विपनालाई मङ्गलबार घरबाट हराएको अवस्थामा फेला पारी बुधबार परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक ढकालले जानकारी गराउनुभयो । रासस