
२६ फागुन मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।निर्माण कम्पनीले काम गर्न छाडेर जाँदा निर्माणस्थलमा गिट्टी, बालुवा, डण्डीलगायतका निर्माण सामग्री थिए । तीमध्ये गिट्टी र बालुवा प्रयोगमा आए पनि अरु प्रयोगमा ल्याउने अवस्था नरहेको आयोजनाले जनाएको छ ।
लामो समयसम्म खुला राखिएकाले ठूलो परिमाणमा सिमेन्ट प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।झण्डै रु ७० लाख रकम बराबरको सिमेन्ट बिग्रिएको उनले बताए । उनले भने, ‘अहिलेसम्म निर्माणस्थलमै रहेको सिमेन्टलाई व्यवस्थापन गरिनेछ ।’ यहाँ रहेका फलामका डण्डीमा खिया लागेको छ । यहाँ रहेका डण्डी सिमेन्ट पूरै काम नलाग्ने अवस्थामा पुगिसकेको छैन ।
‘निर्माणस्थलमा अहिले झण्डै रु ९० लाख बराबरको डण्डी रहेको छ । उनले भने, ‘डण्डी एक–डेढ वर्षसम्म उसै रहेकाले खिया लागिसकेको छ ।’ यहाँ रहेको बालुवा र गिट्टी भने प्रयोगमा आइरहेको छ ।आयोजनाले अहिले निर्माण गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बिक्री गरिरहेको छ । त्यहाँबाट आएको रकम सम्बन्धित आपूर्तिकर्तालाई नै दिइएको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । निर्माणस्थलमा एक हजार गाडी बालुवा र गिटी रहेको पाइएको छ ।