२९, फागुन जाजरकोट : जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य सुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण सुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने छ । कुल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।
आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको ६ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।