
२९, फागुन काठमाडौं । मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ ।सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै टुटल र पठाओको नाम उल्लेख नगरी तिनीहरूले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको हो ।सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था विपरीत भएको जनाएको छ ।
विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने जनाएको छ ।मन्त्री नेम्वाङले गत मंसिरमा टुटल र पठाओलाई तत्काल बन्द नगर्न निर्देशन दिएका थिए । विभागले त्यस समयमा पनि अहिलेकै जस्तो सूचना जारी गरेर टुटल र पठाओमाथि प्रतिबन्ध लगाएको थियो ।
