काठमाण्डाै,चैत्र १ – नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ । बुधबार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे अनुसन्धान गरेको तर कानुनको उल्लंघन गर्ने अधिकारी र सुरक्षा निकायलाई जवाफदेही बनाउन नसकेको औंलाएको छ ।अमेरिकी विदेश मन्त्रालयले तयार पारेको उक्त रिपोर्ट सार्वजनिक गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सुरक्षा अधिकारीहरुले पछिल्ला वर्षहरुमा प्रदर्शन नियन्त्रणका नाममा अत्याधिक शक्ति प्रयोग गरेको समेत बताए ।नेपाल सरकार र सरकारका प्रतिनिधिहरुले गरेको गैरन्यायायिक हत्याका सन्दर्भमा अमेरिकाले सूची नै प्रकाशित गरेको छ ।
जसमा जुन २० मा विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज भनिएका कुमार पौडेलको हत्याको विषयलाई सुरुमै समावेश गरिएको छ ।विभिन्न मानवअधिकारवादी संगठनले यो इन्काउन्टर नक्कली भएको बताए पनि अहिलेसम्म कुनै प्रहरी अधिकारीबिरुद्ध कारवाही नगरिएको विषय रिपोर्टमा समावेश छ ।निर्मला पन्तको हत्या र बलात्कारको सन्दर्भमा अहिलेसम्म कुनै पनि संदिग्धलाई हिराशतमा नलिइएको तथा प्रदर्शनकारीमाथि गोली चलाइएको विषय पनि रिपोर्टमा उल्लेख छ ।यस्तै भक्तपुरमा ११ बर्षीय बालक निशान खड्काको अपहरणपछिको हत्यामा संलग्न भएको भन्दै प्रहरीले गरेको इन्काउन्टरका बारेमा पनि प्रश्न उठाइएको छ ।