२०७६ चैत २ विराटनगर । कोरोना संक्रमणको त्रास बढेसंगै विराटनगरमा मास्क र सेनिटाइजर पसल र सुपरमार्केटमा पाइन छाडेको छ ।चिकित्सकलाई समेत कठिनाइ हुने भएपछि कोसी अस्पताल विराटनगरका चिकित्सके आफैं मास्क बनाउन सुरु गरेका छन् । उनीहरूले बिरामी, तिनका आफन्त र अस्पतालका कर्मचारीलाई समेत पुग्ने गरी सेनिटाइजर पनि बनाएका छन् ।विराटनगरमा मास्क र सेनिटाइजको अभाव भएसंगै यसको उत्पादन आफैं थालिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्रले जानकारी दिएकी छन् । भनिन्, “बाहिर बजारमा पाइन छाडेपछि हाम्रा स्टाफ र बिरामी तथा तिनका आफन्तले पनि प्रयोग गर्न मिल्ने गरी आफैं सेनिटाइजर बनाएका हौं ।” मिश्रले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्पिरिटलगायत केमिकल्स प्रयोग गरेर सेनिटाइजर बनाइएको छ ।
अस्पतालका चिकित्सक तथा कर्मचारीहरूको लागि कपडाको दुई लेयरको मास्क तयार गरिएको पनि मिश्रले बताएकी छन् । चाहिने जति संख्यामा मास्क उत्पादन गर्ने आफूहरूको तयारी रहेको उनले सुनाइन् । कोसी अस्पतालमा दैनिक करिब ४ हजार बिरामी उपचार गर्न आउने गरेका छन् । तर, कोरोना संक्रमणको त्रास फैलिएसंगै अस्पतालमा सावधानी अपनाउनुपर्ने भएकोले बिरामी र कुरुवालाई समेत अनिवार्य हात धुने प्रबन्ध गर्न साबुन पानीको व्यवस्था गरिएको छ ।