२०७६ चैत ४ गते – गर्भ रहेदेखि नै केही कुरामा सर्तकता अपनाउने, सजग हुने, खानपान र दिनचर्यालाई सन्तुलित राख्ने हो भने धेरै हदसम्म ढुक्क हुन सकिन्छ, जन्म लिने बच्चा स्वस्थ्य हुनेछ ।हुन त गर्भाधान प्रक्रियाबाटै दम्पतीले विशेष सर्तकता अपनाउनुपर्छ वा तयारी गर्नुपर्छ भनिन्छ । जब हामी बच्चा जन्माउने योजना तय गरेर शारीरिक क्रिया गर्छौं, त्यही विन्दुदेखि दम्पतीले अनुशासित जीवन अपनाउनुपर्ने मान्यता छ । किनभने दम्पतीले गर्ने कतिपय गल्तीले गर्भको बच्चालाई असर गर्छ । नतिजा, बच्चा जन्मजात कुनै शारीरिक विकार बोकेर आउँछ । त्यही विकारले ति बच्चालाई जीवनभर सताउँछ । उसले पूर्ण स्वस्थ्य जीवन विताउन सक्दैन ।
गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा दम्पतीले धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।गल्ती के हुन्छ भने, अक्सर दम्पती पारिवारिक जीवनमा राम्ररी एडजस्ट नहुँदै बच्चा जन्माउने तयारी गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव, ठाकठुक पर्छ । उनीहरु भनाभन गर्छन्, झै-झगडा गर्छन् । यसको सोझो प्रभाव गर्भको बच्चालाई पर्छ ।गर्भवतीको मनमा पैदा हुने वेचैनी, आवेग, आक्रोस, पीडा, वेदनाले समेत गर्भको बच्चालाई असर गर्छ । त्यही कारण गर्भ रहेदेखि नै महिलाले मनलाई शान्त तुल्याउनुपर्छ, खुसी हुनुपर्छ । सकारात्मक हुनुपर्छ ।
पार्टनरको भूमिका : श्रीमती जब गर्भवती हुन्छे, श्रीमान्ले आफ्नो दायित्व बोध गर्नुपर्छ । श्रीमतीको गर्भबाट जन्म लिने बच्चा दुबैको हो । त्यसमा दुबैको समान हक लाग्छ । दुबैले त्यसबाट उत्तिनै सन्तान सुख प्राप्त गर्छन् । तर, गर्भमा बच्चा हुर्काउनुपर्छ महिलाले । प्रसव पीडा सहनुपर्छ महिलाले । ज्यानको बाजी लगाउनुपर्छ महिलाले ।त्यसैपनि संवेदनशिल हुन्छन् । आफ्नो गर्भमा बच्चा हुर्काइरहँदा उनीहरुको मनोदशा कस्तो हुन्छ होला ? त्यसमाथि परिवारले उनको भावना बुझिदिएन भने ? उनलाई आत्मिय साथ र सहयोग मिलेन भने ?एक महिलाका लागि आमा हुन वास्तवमै कठिन काम हो । यस्तो अवस्थामा उनको मनोभावलाई बुझ्ने सबैभन्दा नजिकको मान्छे भनेका श्रीमान् नै हुन् ।