
गुल्मि, बैशाख ८ /
केहीबेर अघि गुल्मीको चन्द्रकोट गाउंपालिकामा वडा नंं ४ शान्तिपुर बसपार्क स्थीत पूर्ण बहादुर खनालको घरमा रहेको खनाल स्टोर्समा आगलागी भएको हो ।
आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षिय समिर खनालको मृत्यु भएको चन्द्रकोट गाउंपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले जानकारी दिनु भयो ।
पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल आगलागीमा परी गम्भिर घाईते भएका उहाले बताउनु भयो । छोराको निधन भएको छ घाईते दुवैजना उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाईएको छ अध्यक्ष खत्रीले भन्नु भयो ।
गाउंपालिकाका अध्यक्ष खत्रीका अनुसार खाद्यान्न र ग्यांसको समेत पसल रहेको कारण आगलागीबाट साढे दुईतलाको पक्कि घर पूर्ण रुपमा क्षति भएको छ ।
घरको भुईतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको छ । जेठो छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हामफालेर ज्यान जोगिएको अध्यक्ष खत्रीले जानकारी दिनु भयो ।
आगलागी कसरी भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन । आगलागीपछि ग्यांसको सिलिण्डर पड्किदा घरमा क्षति भएको अध्यक्ष खत्रीले बताउनु भयो ।
“घाईतेहरुलाई अस्पताल पठाएर अहिले घटनास्थलमा मुचुल्का उठाउंदै छौं, आगलागी कसरी भएको हो भन्नेबारे घाईतेहरुसंग सोध्न अवस्था थिएन, मृतक समिरको शव पसल भित्रै रहेको छ ।” अध्यक्ष खत्रीले भन्नु भयो ।