
जेठ ९,प्युठान कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्यूठानका नौवटै स्थानीय तहले क्वारेन्टिनको सङ्ख्या बढाउन थालेका छन् । भारतका विभिन्न स्थानबाट घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि उनीहरुको व्यवस्थापनका लागि जिल्लामा क्वारेन्टिनको सङ्ख्या बढाउन थालेको हो । प्युठान नगरपालिकाले नगरका २२ स्थानमा कूल २५० श्ययाको क्वारेन्टिन निर्माण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । बाहिरी देशबाट आउने व्यक्ति थपिन थालेपछि आवश्यकताका आधारमा विभिन्न टोल, विद्यालय, सावर्जनिक भवनमा क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
जिल्लाको स्वर्गद्वारी नगरपालिकामा पनि ३०० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो । नगरको निर्णयानुसार प्रत्येक वडाको माध्यामिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने केसीले बताउनुभयो । भारतबाट हालसम्म ११ व्यक्ति आएको र अन्य १५÷२० जना सम्र्पकमा आएको हुनाले उनीहरुलाई यातायातको व्यवस्थापन गरेर सिमानाबाट नगर क्षेत्रमा ल्याइ क्वारेन्टिनमा राखिने स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ ।
फाइल तस्बिर:
माण्डवी गाउँपालिकाले पनि भारतबाट आउने व्यक्तिको सङ्ख्या बढ्दै जान थालेपछि क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै गएको प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताउनुभयो । गाउँपालिकाले अहिले १५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिसकेको छ । आवश्यकताका आधारमा पाँचवटै वडामा ५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिने उहाँले जानकारी दिनुभयो । यहाँका दुई हजार २०० बढी व्यक्ति भारतमा रहेको र एक हजार बढीले वडाध्यक्षमार्फत आफ्नो घर पर्कनका लागि सम्पर्कमा आएको उहाँको भनाइ छ । आवश्यकता परेमा पुनःक्वारेन्टिनको सङ्ख्या पनि थपिने उहाँले बताउनुभयो ।
सरुमारानी गाउँपालिकाले पनि हालसम्म १४० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिसकेको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताउनुभयो । हालसम्म ३६ जना भारतबाट आएको उहाँको भनाइ छ । पालिका क्षेत्रका व्यक्ति दुई हजार ५०० देश बाहिर रहेको र करिब ३०० आउनका लागि सम्र्पकमा आएको रायमाझीको भनाइ छ । त्यस्तै ऐरावती गाउँपालिकाले पनि भारतबाट आउने व्यक्ति थपिदै जान थालेपछि हालसम्म २०० श्यया क्षमताको विभिन्न विद्यालयमा क्वारेन्टिन निर्माण गरेको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिनुभयो । हालसम्ममा ८३ जना आइसकेको उहाँको भनाइ छ ।
यस्तै मल्लरानी गाउँपालिकाले पनि बाहिरबाट आउने व्यक्ति थपिदै जान थालेपछि क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै गएको स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो । सात स्थानमा ७५ श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको उहाँको भनाइ छ । आवश्यकताअनुसार थप गर्दै लैजाने शाहीले बताउनुभयो । झिमरुक गाउँपालिकाले पनि हालसम्म १२ स्थानमा १५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको जनाएको छ । गौमुखी गाउँपालिकामा सात स्थानमा १४५ श्ययाको क्वारेन्टिन निर्माण गरेको छ भने नौबहिनी गाउँपालिकामा छ स्थानमा ९८ श्ययाको क्वारेन्टिन निर्माण गरिएको जनाएको छ । रासस