
प्यूठान, असार ११ प्यूठानका सम्पूर्ण स्थानीय तहहरूले असार १० गते आ आफ्ना निति , कार्यक्रम तथा प्रस्तुत गरे । यसै अन्तर्गत स्वर्गद्वारी नगरपालिका प्यूठानले पनि आफ्नो सातौं नगरसभा अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का निति , कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ ।स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीको अध्यक्षता तथा शाखा तथा योजना अधिकृत पुरन आचार्यको सञ्चालनमा प्यूठान उद्योग वाणिज्य सघंको सभाहल स्वर्गद्वारी नगरपालिका ३ जलुके प्यूठानमा सम्पन्न भएको हो । नगरसभामा नगरप्रमुख रोका क्षेत्रीले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख गोमा रेग्मीले प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन ।
उप प्रमुखबाट प्रस्तुत ५८ करोड ६० लाख ३३ हजार ४ सय ५९ रुपैयाँको जम्मा प्रस्तावित बजेटमा पहिलो प्राथमिकता कोभिड १९ (कोरोना) नियन्त्रण कार्यक्रमसङ्गै स्वास्थ्यलाई दिईएको छ । वर्तमान परिस्थितिको विक्राल समस्यालाई मध्य नजर गर्दै नगरपालिकाले कोरोना विपद कोषमा १ करोड ५० लाख ८३ हजार ४ सय ५९ रुपैयाँ विनियोजनको प्रस्ताव गरेको छ । यसैसङ्गै स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा ६५ लाख रुपैयाँको बजेट बिनियोजनको प्रस्ताव गरिएको छ ।
भौतिक पूर्वाधार अन्तर्गत नगरपालिकाका ९ ओटै वडाका नमुना सडकको स्तरोन्नति तथा निर्माणको लागि २०/२० लाख गरि १ करोड ८० लाख रुपैयाँको बजेट विनियोजनको प्रस्ताव छ । नगरपालिकाले वडाको मातहतबाट पुजिगत तथा पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने गरि प्रत्येक वडामा ३० लाख रुपैया बराबरको बजेटको प्रबन्ध गरेको छ ।
प्रस्तावित बजेटमा उज्यालो नगर कार्यक्रम अन्तर्गत साझेदारी बजेटको व्यवस्था गरेको नगरपालिकाके एक घर एक धारा को निति अन्तर्गत खानेपानी शिर्षकमा एकमुष्ट ३५ लाख रुपैयाँको विनियोजन गरेको छ भने नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि नगरपालिकाको तर्फबाट १ करोड रूपैयाँ विनियोजन गरेको छ ।
यसैसङ्गै एउटा वडा कार्यलाई निर्माणको लागि ४० लाख बजेट विनियोजन गरिएको छ तर यहि वडा भन्ने तोकिएको छैन । नगरपालिकाका ६ र ७ नम्बर वडा कार्यालय विहिन छन भने १ र ९ नम्बर वडामा वडा कार्यालय बन्दै छन र अन्य सबै वडाले आफ्नै भवनमा कार्यालय राखेका छन । सुरक्षित आवास कार्यक्रमको खरको छाना विस्थापन कार्यमा नगरले प्रदेश सरकारको १ करोड ५० लाख बजेटमा साझेदारी गर्दै नगरपालिकाको तर्फबाट १ करोड ५० लाखरुपैयाँको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले कृषि तथा पशुपालन व्यवसायीकरण , आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिईनेछ भन्दै `जोतौं बाझो खेत बाझो बारी , उठाऔं अब जिम्मेवारी ´ भन्ने कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रमा ९५ लाख रुपैयाँको बजेट बिनियोजनको प्रस्ताव गरेको छ ।
प्रस्तावित नगरको वजेटमा संस्कृति , महोत्सव तथा पर्यटन शिर्षकमा १० लाख , शिक्षा क्षेत्रमा ८० लाख र महिला, बालबालिका , दलित , जनजाति , अपांगहरूको क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमको लागि ३० लाख रुपैया बजेट विनियोजन गरेको छ ।
महिला, बालबालिका , दलित , जनजाति , अपांगहरूको क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमको लागि संघीय सरकसरबाट ६४ लाख रुपैया बजेट विनियोजन भएको उल्लेख नगरपालिकाले गरेको छ । खेलकुद बिकासको कार्यक्रम अन्तर्गत वडा नम्बर ४ को बाझिपुर खेल मैदानको स्तरोन्नतिको लागि २० लाख र विविध खेलकुद प्रतियोगिताको लागि १० लाख रुपैयाँको बजेट बिनियोजनको प्रस्तुत नगरपालिकाले गरेको छ ।
गरिब तथा पिछडिएका जनताको उज्वल भविष्यको लागि जनतासङ्ग मेयर कार्यक्रममा र५०रुपैयाँ लाख र गरिब , पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने महिला गर्भवती तथा सुत्केरी महिलाहरूका लागि उपमेयरको कोशेली कार्यक्रमको लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
यी आदि प्रस्तावित बजेटको अध्यन गरि आवश्यक छलफल गरि पारित गर्न यहि असार १७ गते नगर सभासदहरूलाई बैठक बस्ने जानकारी दिदै नगरप्रमुख तथा सभाध्यक्ष नेत्र बहादुर रोका क्षेत्रीले सभाको समापन भएको घोषणा गरेका थिए । प्रस्तावित बजेटलाई अध्यन गरिसकेपछि अहिलेको अवस्थामा कृषिलाई र रोजगार गुमाएर बसेका नागरिकको रोजगार कार्यक्रममा प्राथमिकता दिनुपर्ने मान्यता जानकार तथा शुभचिन्तकहरूको रहेको छ ।