जिल्ला निर्वाचन कार्यालय यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा बदर मत घटाउन प्रयत्नरत छ । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले बदर मत घटाउन मतदाता शिक्षालाई प्रभावकारीरूपमा सञ्चालन गरिएको बताए ।
प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि रिक्त दाङ क्षेत्र नं ३ (ख) र लछिनप्रसाद बुढामगरको निधनपछि रिक्त घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । दाङमा हुने उपनिर्वाचनको तयारी पूरा भएको र मतदान केन्द्रमा कर्मचारी पठाइसकिएको उनले बताए । उनले भने, “मतदाता स्थलको तयारी पूरा भयो । अब मत गणनाको तयारी हुन बाँकी छ ।”
उनले अघिल्ला चुनावको तुलनामा यसपटकको निर्वाचनमा दलहरुले चुनाव प्रचारको क्रममा आचारसंहिता उल्लङ्घनका घटना निकै कम गरेको पनि बताए । उपनिर्वाचनका लागि दाङमा ८२ मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
क्षेत्र नं ३ (ख) प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्षका लागि ३४ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको थापाले जानकारी दिए । उनका अनुसार प्रदेशसभा ३ (ख) मा ३२ र घोराही–१६ मा दुई वटा मतदान केन्द्र तोकिएको छ ।
दाङ क्षेत्र नं ३ (ख) अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ मा पाँच वटा, बबई गाउँपालिकामा १०, दङ्गीशरण गाउँपालिकामा आठ तथा शान्तिनगर गाउँपालिकामा नौ मतदानस्थल तोकिएको छ । निर्वाचन अधिकृत थापाका अनुसार घोराही–१६ का लागि आधारभूत विद्यालय सानी अम्बापुर र सिर्जनशील आधार विद्यालय बाहुनडाँडालाई मतदान केन्द्र तोकिएको थापाले जानकारी दिए ।
दाङमा डेढ वर्षयता १७ हजार २१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६३३ मतदाता भएकोमा हाल तीन लाख ६२ हजार ८४३ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
दाङका छ वटा मतदान स्थल अतिसंवेदनशील रहेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
चौँतीस वटा निर्वाचनस्थलमध्ये दुई वटा सामान्य, २६ वटा संवेदनशील र ६ वटा निर्वाचनस्थल अति संवेदनशील रहेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ थियो । उनका अनुसार निर्वाचनस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।