
प्यूठान, साउन २३ । प्यूठान नगरपालिकाले सञ्चालन गरेको ‘हाम्रा सन्तान हाम्रो भविष्य‘ कार्यक्रमबाट ८५ शिशु लाभान्वित भएका छन् ।
जन्मदर्ता गराउन प्रोत्साहन गर्न नगरपालिकाले संचालन गरेको अभियान अनुसार २०७६÷०७७ मा ८५ शिशुको खातामा नगरपालिकाले रकम जम्मा गरेको सूचना अधिकारी आशिष पोख्रेलले जानकारी दिए । सम्वन्धीत वडामा जन्मदर्ताका आधारमा नेपाल बैक लिमिटेड विजुवार शाखामा बाल बचत खाता संचालन गरी नगरपालिकाले रु.१ हजार रुपैंया जम्मा गरिदिएको उनले भनाइ छ ।
सूचना अधिकारी पोख्रेलले भने, “खाता खोलिसकेपछि बाल वचत खाता अन्तर्गत नगरपालिकाले १ हजार खातामा जम्मा गरिदिएका छौं ।” उक्त खातामा नेपाल बैंक लिमिटेडले रु. ५ हजार बरावरको स्वास्थ्य उपचार विमा समेत गरिदिएको छ । विमा मार्फत बालबालिकाले १८ वर्षसम्म विरामी भएमा उपचार खर्च पाउनेछन् ।
पञ्जिकरणकोे महत्वलाई दर्शाउन नगरपालिकाले बच्चा जन्मिएपछि ३५ दिन भित्र जन्मदर्ता गराउने बालबालिकाहरुको प्रोत्साहनका लागि यो अभियान लिएको प्यूठान नगरपालिकाकाका मेयर अर्जुन कुमार कक्षपतीले बताए । गत आर्थिक वर्षबाट सुरुवात भएको उक्त कार्यक्रम यस आ.व.मा पनि निरन्तरता पाउने नगरपालिकाले जनाएको छ ।