सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ भित्रै सम्पन्न हुने गरी भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। विमानस्थलको भौतिक संरचना निर्माणको काम सकिएसँगै फिनिसिङको काम सुरु भएको छ। तर, विमानस्थल सञ्चालनसँगै विभिन्न देशबाट आउने जहाजका लागि आवश्यक हवाई प्रवेश बिन्दुको विषय भने टुंगो लाग्न सकेको छैन।
भारतीय आकाश हुँदै नेपाल भित्रने जहाजका लागि सीमित हवाई प्रवेश बिन्दु मात्रै भारतले उपलब्ध गराएको छ। नेपाली पक्षले हवाई प्रवेश बिन्दु थप गर्न माग गरिरहेको छ। निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम दिशाबाट आउने जहाजका लागि सहज हवाई प्रवेश बिन्दु उपलब्ध गराउन विषयमा भारतले आनाकानी गरिरहेको छ।
भारतीय वायुसेवा नियामक निकाय विमानपत्तन प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत फागुनमा नेपालगञ्ज र महेन्द्रनगरलगायतका हवाई प्रवेश बिन्दुका लागि अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओमा संयुक्त पत्र पेश भएको थियो।
अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओले आपसी समझदारीमा हवाई प्रवेश बिन्दुको विषय टुंगो लगाउन भनेको थियो। भारतले नेपालगञ्ज र महेन्द्रनगर हवाई प्रवेश बिन्दु सुरक्षाका कारणले दिने नसक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराइसकेको छ।
पछिल्लो समय भारतले पाकिस्तानसँगको विवादको प्रसंग निकालेर नेपालगञ्ज र महेन्द्रनगरलगायत पश्चिमतर्फको हवाई प्रवेश बिन्दु तत्काल दिने नसक्ने भन्दै भरैहवा प्रवेश बिन्दु दिने सक्ने प्रस्ताव अगाडि बढाएको बताइएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि तत्कालका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने पनि भैरहवा प्रवेश बिन्दु लिनुपर्ने बाध्यकारी अवस्था आएका बताएको छ।
भारतीय पक्षले भैरहवा प्रवेश बिन्दुका पनि केही सर्त अघि सारेको छ। भारतीय पक्षले २१ हजार फिटको उचाईबाट मात्रै जहाज नेपाल प्रवेश गर्न पाउने गरी भरैहवा प्रवेश बिन्दु दिन सहमति भइसकेको छ। तर प्राधिकरणले अहिले २१ हजार फिटको सट्टा १२ हजार फिटको उचाईमा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमबाट हुनुपर्ने अडान अघि सारिएको छ।
भैरहवा हवाई प्रवेश बिन्दुमा उचाईको साथै विमानस्थलको पश्चिमबाट नभई ठीक दक्षिणतर्फबाट मात्रै हवाई प्रवेश बिन्दु दिन भारत सहमत छ। तर, प्राधिकरणले भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फबाट हवाई प्रवेश बिन्दु दिन माग गरिरहेको स्रोतको भनाइ छ। भारतले दिन सहमत भएको भैरहवाको प्रवेश बिन्दु विमानस्थलबाट २८ किलोमिटर दक्षिणतिर पर्छ।
२१ हजार फिटबाट आएर ल्यान्ड गर्न कति सहज?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतीय सिमाबाट ३ देखि ४ किलोमिटरकै दुरीमा पर्छ। विमानस्थलको रन–वे पूर्व–पश्चिममा फैलिएको छ। तर, भारतले दिने भैरहवा प्रवेश बिन्दु दक्षिण दिशाको हो। सबैभन्दा पहिले त दक्षिण दिशाबाट आएको जहाज अवतरणका लागि जहाजलाई पश्चिम वा पूर्व मोडिनु पर्ने हुन्छ।
भैरहवा प्रवेश बिन्दुबाट नेपाल छिरेको २१ हजार फिट उचाइमा रहेको जहाजले अवतरणका लागि पश्चिम वा पूर्वको मोड लिएपछि उचाइ क्रमशः घटाउँदै जानुपर्छ। २१ हजार फिटमा रहेको जहाजलाई अवतरण गर्न जहाजको उचाई घटाउने सामान्य अवस्थामा न्यूनमत १२ देखि १५ मिनेटको समय लाग्छ। तर, त्यो उचाई पनि स्पाइरल (घुमाउरो तवरमा जहाजलाई होल्ड प्लान अनुसार उचाइ घटाउने प्रक्रिया) तवरबाट कम गर्नुपर्छ। यसरी सामान्यतया प्रतिघन्टा २ सय ५० नटिकल माइल (एक नटिकल माइलमा १ दशमलव ८ किलोमिटर हुन्छ)को गतिमा आएको जहाज २१ हजार फिटबाट अवतरण गर्न ६५ नटिकल माइल (झन्डै १ सय २० किलोमिटर) दुरी पार गर्नुपर्ने हुन्छ।
तर, भारतले भैरहवा प्रवेश बिन्दु नदिएको अवस्थामा भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जहाजले पुरानै पर्सा बिन्दुबाट ‘सिमरा–नारन’ हुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने हुन्छ। यो रुटबाट जाँदा जहाजले स्पाइरल रुपमा उचाइ घटाउन नपरे पनि दुरी बढी पर्ने भएकाले थप ८ मिनेटको समय लाग्छ। नेपाल एयरलाइन्सका एक वरिष्ठ पाइलटले भैरहवा प्रवेश बिन्दु नपाए भैरहवा अवतरण गर्ने जहाजका लागि पुरानो रुट प्रयोग गर्दा थप ८ मिनेट समय लाग्ने बताएका हुन्।
उनका अनुसार पर्साबाट नारनसम्म ४० नटिकल माइल र नारनबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ५० नटिकल माइल गरी ९० नटिकल माइल पर्छ। जुन दुरी भैरहवा प्रवेश विन्दुबाट प्रवेश गरी जहाज अवतरण गर्न योग्य बनाउँदा उडान गर्नुपर्ने दुरीभन्दा २५ नटिकल माइल कम हो। समयसँगै तेलमा लाग्ने खर्चमा पनि ४० हजार रुपैयाँ भन्दा बढी बचत हुने अवस्था आउने उनको भनाइ छ। तत्कालका लागि भारतले पश्चिमतर्फको हवाई प्रवेश बिन्दु नदिए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भैरहवा प्रवेश बिन्दु आवश्यक रहेको प्राधिकरण स्रोतको भनाइ छ।
कहाँ पुग्यो प्रक्रिया?
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच भैरहवा हवाई प्रवेश बिन्दु लिनेदिने सम्बन्धमा सहमति भइसकेको छ। सहमतिअनुसार दुईपक्षबीच पत्राचार पनि भइरहेको प्राधिकरण महानिर्देशक राजन पोखरेल बताउँछन्।
भारतले भैरहवाबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी भैरहवा प्रवेश बिन्दुलाई (लुम्बी) नै दुईतर्फी गराउने भन्दै आएको छ। तर, प्राधिकरणले त्योभन्दा केही पश्चिमतर्फबाट प्रवेश बिन्दु माग गरिरहेको पोखरेलको भनाइ छ। ‘भैरहवा प्रवेश बिन्दु दिने र लिने सहमति भइसकेको छ,’ पोखरेलले भने, ‘तर, कुन स्थान र कति फिट उचाइबाट जहाजले नेपाल प्रवेश गर्न पाउने भन्ने विषयमा अध्ययन रिर्पोट आएपछि हुने वार्ताबाट टुंगो लाग्छ।’
भैरहवा प्रवेश बिन्दुका विषयमा जति छिटो काम हुनु पर्ने हो त्यो भने नभएको पोखरेलको स्वीकारोक्ति छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आइकाओको सहयोगमा प्रवेश बिन्दु र फिटका विषयमा अध्ययन गरिरहेको उनको भनाइ छ। प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अगाडि नै सबै प्रक्रिया टुंगो लगाउने तयारी गरेको पोखरेलको दाबी छ। तर, भारतीय पक्षले नेपालगञ्ज प्रवेश बिन्दुका हकमा सुरक्षा चुनौती रहेको र महेन्द्रनगर प्रवेश बिन्दुको हकमा ट्राफिक कन्जेक्सन भन्दै टारेको प्राधिकरणको भनाइ छ।
कहाँकहाँबाट नेपाल प्रवेश गर्छन् जहाज?
अहिले नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकात्ता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज ‘रोमियो-५८१’ रुट हुँदै सिमरा प्रवेश बिन्दु भएर भएर नेपाल भित्रने र काठमाडौं विमानस्थलमा अवतरण गरिरहेका छन्।
यसैगरी, पश्चिमबाट आउने जहाजहरू पनि सिमरा क्षेत्रबाट नै नेपाल प्रवेश गरी काठमाडौंमा अवतरण गर्छन्। भारतको नयाँ दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले ‘गल्फ-५९८’ रुट हुँदै पर्सा-सिमरा इन्ट्री प्वाइन्टबाट काठमाडौं अवतरण गर्छन्। साथै भारतको बैङ्लोरतर्फबाट आउने जहाज भने ‘ओएमयुपिए’ बाट प्रवेश गर्दै सिमराबाटै काठमाडौं आउँछन्। भुटानको पारोबाट आउने जहाज मेची प्रवेश बिन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छ।
तर, अहिले पूर्व तथा उत्तरबाट आउने जहाजको हकमा समस्या नभएपनि पश्चिम दिशाबाट आउने जहाजका विषयमा भने सिमरा भएरै आउनुपर्ने बाध्यता छ। काठमाडौं आउन पनि पश्चिम नेपालको मेहन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश बिन्दु नेपालको लागि सहज हुन्छ। काठमाडौंसँगै निजगढ र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि पश्चिमतर्फकै हवाई प्रवेश बिन्दु सहज हुन्छ।
सिमरा प्रवेश बिन्दुका तुलनामा नेपालगञ्ज प्रवेश बिन्दुबाट काठमाडौं अवतरण गर्न जहाजलाई १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन एक सय ६५ नटिकल माइल दूरी कम पर्छ।
चीनको ल्हासाबाट आउने जहाज भने ‘ब्राभो-३४५’ रुट हुँदै नुनिम बिन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्छन्। यसैगरी नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन्। एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिर निस्कने आउट बिन्दु छ। तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरने गर्छ। यसैगरी पूर्वका देश जानेको हकमा भने विराटनगर प्रवेश बिन्दु मात्रै हो। नेपालबाट कोलकात्ता, हङकङ र कोरिया जाने जहाजले यही बिन्दु प्रयोग गर्नुपर्छ। भूटानको पारो जान परेको अवस्थामा भने जहाजहरू काठमाडौंबाट तुम्लिङटार हुँदै मेची प्रवेश बिन्दुबाट बाहिरिने गर्छन्। चीनको ल्हासा जाने जहाज जुन बाटो भएर आएका छन् त्यही बाटो जाने हो।
नेपालले पोखरा, भैरहवा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसमेत भइरहेको अवस्थामा भारतले पश्चिम नेपालको महेन्द्रनगर वा नेपालगञ्ज हवाई प्रवेश बिन्दु उपलब्ध गराए उपयुक्त र सस्तो हुने प्राधिकरणको भनाइ छ। यी विमानस्थलमा आउने आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्न जान्छ।
प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन्। दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडौं, पोखरा, भैरहवा र निजगढ जान लामो दूरी तय गर्नुपर्छ। जसका कारण पनि तत्कालको अवस्थामा भारतले पश्चिमको हवाई प्रवेश बिन्दु नदिएपनि नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भैरहवा प्रवेश बिन्दू लिनुपर्ने बाध्यता आएको प्राधिकरणको भनाइ छ।