
दाङ, साउन २९ । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा विहीवार विहान ३ बजेर २० मिनेट दुर्घटना हुदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा परि एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दुर्घटनामा परि मगरकी छोरी २१ वर्षीया छोरी रोजिना बोहोरा पनि घाइते भएकी छन् । एम्बुलेन्समा मगरका छोरापनि सवार रहेको भएपनि उनलाई भने चोटपटक नलागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।