काठमाडौं,असोज १४ । नेपाली अभिनेता सुवास थापा करीब ६ वर्ष अगाडि फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा देखिएका थिए । उनलाई यही फिल्मले ‘बिर्खे’ को रुपमा पहिचान दिलाएको थियो ।
नेपाली फिल्ममा भविष्य नदेखेर अमेरिका पलायन भएपछि नेपाली फिल्ममा नदेखिएका उनी अब अभिनयमा फर्किएका छन् । नेपाली दर्जनौं फिल्ममा अभिनय गरेका कलाकार सुवास थापा अब हलिउड फिल्ममा अभिनय गर्दै छन् ।
एक पुस्तकमा आधारित भएर निर्माण भइरहेको ‘हाउ टु किप योर म्यान ह्याप्पी’ फिल्ममा सुवास सफल व्यवसायीको भूमिकामा छन् । फिल्मलाई कन्ट्रेल राइटले निर्माण र निर्देशन गरिरहेका छन् । निर्देशक राइट आफैंले लेखेको पुस्तकको कथालाई
फिल्ममा उतारिएको हो ।यो फिल्म नेटफ्लिक्समा प्रदर्शन हुनेछ ।अहिले फिल्मको छायांकन भइरहेको छ ।
श्रीमतीले छाडेर गएपछि सुवास र उनका छोरा एक्लै भएको कथालाई फिल्ममा देखाइनेछ । अश्वेत परिवारमा बढ्दो सम्बन्ध बिच्छेदले निम्त्याएको पारिवारिक बिखण्डनको कथामा फिल्म आधारित छ ।
अमेरिकन नायिका प्रियाना मोर्गनसँग अभिनय गरेका सुबास यो फिल्ममा व्यवसायिक रुपमा सफल र पारिवारिक जीवनमा असफल भएका एक व्यवसायीको भुमिकामा प्रस्तुत भएका छन् ।
कमेडी भूमिकामा निकै रुचाइएका अभिनेता थापाले ‘ब्रेकफेल, तोरी लाहुरे, सरी ल, तथास्तु, को आफ्नो’ लगायत एक दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।







