
काठमाडौं, असोज १६ । चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्।बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक ुडोइनुमा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए।
३० वर्षीया लामुले गत सेप्टेम्बर १४ मा अन्तिम भिडिओ पोस्ट गरेकी थिइन्। त्यसको दोस्रो दिन भिडियो लाइभमा आएकी उनको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएकोथियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।
स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको थियो। आक्रमण भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाले चीनमा महिलाविरूद्ध हुने हिंसालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको छ।
त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आक्रमण भएको जनाएको छ। आक्रमणपछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगिएको थियो भने त्यसपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो।
घटनामा घाइते भएकी उनको उपचारका लागि उनका परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको त्यहाँको एक स्थानीय संचारमाध्यमले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ। एजेन्सी